काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ ।
बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत हिजो सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन ।
दाहालको प्रस्तावकमा माओवादीका सांसद गोपीबहादुर सार्की रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद रहेका छन् ।
त्यस्तै शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखरकुमार सिंह रहेका छन् ।
गठबन्धन दलबाट उम्मेदवार बनेका दाहाल निर्वाचित हुने निश्चित जस्तै देखिएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा अहिले ५८ सदस्य रहेका छन् । राष्ट्रपतिबाट मनोनित हुने एक सदस्य खाली रहेको छ ।
राष्ट्रियसभामा १८ सांसदसहित माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी रहेको छ भने नेपाली कांग्रेस १६ सांसदसहित दोस्रो ठुलो दल रहेको छ । त्यसैगरी एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद रहेका छन् । त्यस्तै लोसपा, राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् । त्यस्तै राष्ट्रपतिबाट मनोनित वामदेव गौतम हाल कुनै पार्टीमा रहेका छैनन् ।
.jpg)


