सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपालको अर्थतन्त्र र चौधरी ग्रुपले खेलेको भूमिका

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 311
    SHARES
  • नेपालको अर्थतन्त्र र चौधरी ग्रुपले खेलेको भूमिका

    काठमाडौं । पछिल्लो समय मुलुकको आर्थिक अवस्था झन् खस्किंदै गईरहेको छ । कोभिड १९ र रुस, युक्रेन युद्धको प्रभावले नेपालको अर्थतन्त्र  पनि अछुतो रहन सकेन  ।

    images

    कोभिडका कारण लामो समयसम्म मुलुकको आर्थिक गतिविधि ठप्प हुन पुगेको थियो । जसका कारण आमनागरिकको आर्थिक अवस्था कमजोर बन्न पुग्यो । त्यसपछिको रुस, युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न गई मूल्यवृद्धि  आकाशिन पुग्यो जसको प्रभाव आमनागरिकको भान्सादेखि देशको अर्थतन्त्रसम्म पर्‍यो  ।

     केही क्षेत्र जस्तै, विदेशी मुद्रा सञ्चिति, हाइड्रो-पावर र पर्यटकको आवागमनमा सुधार देखिए पनि जनताले राहत महसुस गर्न सकेका छैनन् । देश एउटा गहिरो मन्दीबाट गुज्रिरहेको छ । एकातिर कृषिजन्य उत्पादन र औद्योगिक उत्पादन खस्किंदो अवस्थामा छ भने अर्कोतिर व्यापारमा खासै सुधार आउन सकेको छैन, र बेरोजगारीको समस्या झन् जटिल बन्दै गएको छ । बैंक तथा वित्तिय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न खासै चासो नदिंदा अर्थतन्त्र झन शिथिल बन्न पुगेको छ ।

    images

    घर- जग्गा र सेयरमा बैंक तथा वित्तिय संस्थाहरूको लगानी बढ्दै जाँदा अर्थतन्त्रको मेरुदण्ड मानिएको औद्योगिक क्षेत्र भने तंग्रिन सकेको छैन । उत्पादनशील क्षेत्र मजबुत नहुँदा निर्यातमा वृद्धि हुन सकेको छैन भने थप रोजगारी सृजना पनि हुनसकेको छैन । 

    नेपालमा प्राय: अनुत्पादक क्षेत्रमा लगानी भइरहेको जानकारहरू बताउँदै आइरहेका छन् । उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तर्फ सरकारले ध्यान दिने हो भने अर्थतन्त्रको विकासमा केही टेवा पुग्नुका साथै रोजगारी सृजना र राजस्व आर्जनमा समेत योगदान पुग्ने देखिन्छ । 

    तथापि नेपालका केही  निजी क्षेत्रहरूले विभिन्न औद्योगिक तथा कलकारखानामा आफ्नो लगानी गर्दै केही हदसम्म भएपनि अर्थतन्त्रमा राहत प्रदानगर्दै आएका छन् । पछिल्लो समय उद्योग वाणिज्य महासंघले तयार पारेको प्रतिवेदन हेर्ने हो भने निजी क्षेत्रले अर्थतन्त्रमा ८० प्रतिशत भन्दा माथि योगदान पुर्‍याएको छ ।  उत्पादनदेखि उपभोग, कर, राजस्व संकलन, निर्यात, रोजगारी सिर्जना लगायत सबै क्षेत्रमा निजी क्षेत्र अघि देखिन्छ । अर्थतन्त्रमा समस्या भएको कारण निजी क्षेत्रले अपेक्षाकृत काम गर्न नसकेको बताउँदै आएको छ । 

    अधिकांश निजी क्षेत्रहरु मध्ये चौधरी ग्रुप (सीजी) नेपालको प्रमुख औद्योगिक समूह मध्ये एक हो । यसैबीच चौधरी ग्रुपले विगत लामो समयदेखि अर्थतन्त्रमा निरन्तर टेवा पुर्‍याउँदै आएको छ । यस समूहको बीजारोपण सन् १८७० मा भूरामलदास चौधरीले कपडा व्यापारबाट गरेका थिए। भूरामलदास चौधरी राणा प्रधानमन्त्री जुद्धशमशेरको दरबारमा प्रवेश गर्न अनुमति पाएका केही विशेषाधिकार प्राप्त व्यापारीहरू मध्ये एक थिए । उनले छोरा लुङ्करनदास चौधरीसँगै भरियाको सहयोगमा पसलबाट दरबारसम्म सामान बोकेर राजपरिवार र दरबारका लागि चोकमा खुला पसलको व्यवस्था गरेका थिए । 

    बुबाको निधनपछी व्यवसाय सम्हाल्दै छोरा लुङ्करनदासले १९६० र ७० को दशकको प्रारम्भमा देशमा धेरै अग्रगामी उद्योग र व्यवसायहरू स्थापना गरे । फ्लोरिङ, फर्निसिङ,  सिंथेटिक धागो उत्पादन, डिपार्टमेन्टल स्टोर र जापानी प्रविधि प्रयोग गरी स्टेनलेस स्टिलका भाँडाहरू निर्माण गर्ने जस्ता आधुनिक व्यवसायहरू सञ्चालनमा ल्याएका थिए । सन् १९५७ मा स्थापना भएको युनाइटेड बिल्डर्स लुङ्करनदासको अर्को प्रमुख व्यापारिक उद्यम थियो जसले होटल सोल्टी क्राउन प्लाजा र काठमाडौं त्रिशूली सडक निर्माण गरेको थियो । 

    लुङ्करनदासका तीन सन्तानमध्ये जेठा विनोद चौधरीले विश्वभर फराकिलो व्यापारिक साम्राज्य स्थापना गरेर समूहलाई नयाँ अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याईरहेका छन् । उनको प्रयासमा समूहले  १९८५ मा थाई प्रिजर्भ्ड फूड फ्याक्ट्री कम्पनीले उत्पादन गर्ने वाई वाइ इन्स्ट्यान्ट चाउचाउको उत्पादन सुरु गर्यो। सीजीले प्रिकुक्ड ब्राउन चाउचाउलाई अन्तर्राष्ट्रिय नेपाली ब्रान्डमा परिणत गर्न हरसम्भव प्रयास गर्‍यो । 

    आज, वाई वाई नेपालको सबैभन्दा ठूलो ब्रान्ड मात्र नभएर भारतमा समेत सबैभन्दा छिटो बढिरहेको  चाउचाउको वाई वाई ब्रान्डले प्रख्याति कमाईरहेको छ जहाँ यसको उत्पादक सीजीएफआईले २७ प्रतिशत बजार हिस्सा ओगटेको कुराले प्रष्ट हुन्छ । विश्वव्यापी रुपमा परिचित हुनको लागी चौधरी समूहले पछिल्लो दुई वर्षमा आफ्नो प्रमुख ब्रान्ड वाई वाईको साथ युरोपेली र अमेरिकी चाउचाउ बजारमा प्रवेश गरेको छ । 

    यस समूहले ४० भन्दा बढी कम्पनीहरूमा करिब साढे १७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ। कम्पनीले खाद्य तथा पेय, विद्युत तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, वित्तीय संस्था, होटल, आवास निमार्ण , सञ्चार, अटोमोबाइल, अस्पताल, शिक्षा लगायतका क्षेत्रमा लगानी गरेको छ । कम्पनीले लगानी गरेको क्षेत्रमा योजनाअनुसार सफलता पाउन निरन्तर प्रयास गरिरहेको छ । वाइवाई चाउचाउले दक्षिण एसियामा समेत आफ्नो पहिचान बनाउन सफल भएकाले चौधरी समूह बहुराष्ट्रिय कम्पनीको रुपमा परिचित हुन पुग्यो । 

    देशको राजनितिक तथा आर्थिक परिस्थितिको कारण दिनहुँ लाखौको सङ्ख्यामा  युवाहरू रोजगारीको लागी विदेश पलायन भइरहेका छन् । हजारौँ सङ्ख्यामा युवाहरूलाई रोजगारी दिदैँ देशको बेरोजगारीको समस्या समाधानमा आफ्नो क्षेत्रबाट टेवा पुराउँदै आएको कम्पनी मध्ये एक हो चौधरी ग्रुप । यस कम्पनीले २०,००० भन्दा बढि मानिसलाई रोजगारी दिएको छ ।  चौधरी ग्रुपले रोजगारीको क्षेत्रमा मात्र नभइ विभिन्न माध्यमबाट नेपाली अर्थतन्त्रलाई माथि उकास्न टेवा पुराउँदै आएको छ  । 

    चौधरी ग्रुप सबै भन्दा बढि कर तिर्ने कम्पनी भित्र पदर्छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९ \०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा १.८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपले  दाबी गरेको छ ।  

    गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५\७६ मा ११ अर्ब ६७ करोड, २०७६\ ७७ मा ९ अर्ब ८७ करोड, २०७७ \७८ मा १४ अर्ब २८ करोड, २०७८\७९ मा १७ अर्ब ७२ करोड र २०७९\८० मा १६ अर्ब १४ करोड कर सरकारलाई बुझाएको जानकारीमा आएको छ।

    आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित भइरहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुराउँदै आएको छ । अर्थतन्त्रमा आएको संकुचनको कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी  ग्रुपको योगदान भने उच्च रहेको कम्पनीको दाबी छ । 

    समग्रमा हेर्ने हो भने चौधरी ग्रुपले नेपाली अर्थतन्त्र सुधारको लागी टेवा पुराउँदै आएको देखिन्छ । यसमा पनि अझ लगानीको दायरा बढाउदै आफूले हात हालेका क्षेत्रमा निरन्तर अघि बढ्यो भने भविष्यमा चौधरी समुहले नेपाली अर्थतन्त्रमा आफ्नो एउटा छुट्टै छाप छोड्न सफल हुने देखिन्छ ।

    यसरी निजी क्षेत्रहरूले देशमा नै लगानी गरी विदेश पलायन हुन लागेका युवाशक्तिलाई देशमा नै रोजगारी प्रदान गर्न सक्ने हो भने अर्थतन्त्र सुधार हुनुको साथै बेरोजगारी समस्या घटेर जानेछ ।