काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् ।
सोमबार महाशिला गाउँपालिकामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले उक्त्त विधेयक छिट्टै टुङ्गो लगाइने बताएका हुन् ।
मन्त्री गिरीले भने ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ ।’
उनले अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने बताए ।
उनले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने बताउदै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको बताए ।
कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे ।
सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए ।
मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए ।
.jpg)


