काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् ।
शुक्रबार हेटौँडामा नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिए पनि अर्थतन्त्र अझै पनि दबाबमुक्त भने नरहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताए ।
निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको उनको भनाई छ ।
उनले भने, "सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक छ’, । ‘राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयमै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।"
.jpg)


