काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार एक कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् । उनले पार्टीमा आवद्ध महिलाहरुलाई अझ बढि सशक्तिकरण गर्दै नेपाली काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।
उनले भने,"हाम्रो पार्टीलाई सच्चा मानेमा महिलाहरुलाई अगाडि ल्याएर हामी नेपालको ठूलो पार्टी मात्र होइन, बहुमत प्राप्त गर्न सक्ने पार्टीको रुपमा स्थापित गर्न सकियोस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसका लागि हामी सबै लागेर कामहरु गरौं ।’ भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरुको धेरै ठूलो योगदान हुन्छ उनले भने ‘महिलाहरुको योगदान नभईकन हाम्रो पार्टी सुदृढ हुन सक्दैन ।"
सभापति देउवाले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबी गरे ।
उनले भने,"अहिलेको हिसावले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन । बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा’‘अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसावले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ ।"
.jpg)


