काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने बताएका छन्।
शुक्रबार एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले,"राजनीतिक अस्थिरताको श्रृङखलाले देश र व्यवस्थालाई अप्ठयारो नहोस् भन्ने मेरो चिन्ता हो। मैले प्रधानमन्त्रीलाई यही भनेको छु। तपाईंहरूको राजनीतिमा भन्नु केही छैन तर अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो। जवाफमा प्रधानमन्त्रीले तपाईं र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’,। ‘तपाईंहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन निष्ठापूर्वक लागिरहने कबुल गर्दछु।"
उनले तनहुँलाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको बताउदै उनले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराए।
उनले भने, "एउटा जीपी कोइराला श्वास प्रश्साव केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान’, विकासको काम रोकेर कानुनको कुरा नगरौँ, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो", ।
राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको उल्लेख गरे । उनले त्यसको लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी रहेको बताए।
" सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ", राष्ट्रपति पौडेलले भने।
रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढीरहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदानगर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
.jpg)


