काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य सेवालाई समतामुलक ढंगले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावाकारी बनाउन आवश्यक रहेको बताए ।
स्वास्थ्य बीमामा आकर्षण बढाउन विमितले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौति रहेको उनको भनाई छ ।
उनले भने,"नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने हाम्रो संवैधानिक व्यवस्था पनि छ, त्यो प्रक्रिया अघि बढेको पनि छ । विशेषज्ञ स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध हुँदै आएको छ । भौगोलिक हिसावले पूर्णतः तर्फ उन्मुख भएपनि हालसम्म यस कार्यक्रममा करिव २६ प्रतिशत जनसंख्या आवद्ध छ ।’ स्वास्थ्य बीमाको नविकरण गर्ने दर दुई तिहाई रहेको देखिन्छ । स्वास्थ्य बीमा ऐनको प्रावधानअनुसार पनि औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक छ ।"
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा विकास गर्न सकने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निस्कर्षमा पुग्ने उनले बताए ।


