काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताएकी छन् ।
बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताउदैं उनले काँग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको उल्लेख गरीन् ।
मन्त्री शर्माले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताइन् ।
उनले भनिन्,"संसद लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध नै भएको त दुई तीन दिन भयो । तर त्यहाँ प्रश्नहरू उठिरहेका छन् । खासगरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरू उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ । समग्र विषयको छानबिन गर्नेकुरामा त कुनै अन्यथाको कुरा भएन । जुन बेलाबाट सहकारीभित्र समस्या देखापरे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन । तर सुरुवातमा नेपाली काँग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन । यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्नेकुरा नै हो । एकातिर प्रधानमन्त्रीको प्रस्ताव गर्न गएको भन्नेकुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्नेकुरामा यस्तो खालको राजनीति हुँदैन । यस्तो राजनीति गर्नु हुँदैन भन्ने नै हो सरकारको कुरा ।"
.jpg)


