काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्नुपर्ने बताएका छन् ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान–२०८१’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सवारीचालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको बताए ।
ड्राइभिङ सेन्टरमा सिकेका भरमा लाइसेन्स दिने प्रक्रियामा कडाइ गर्न आवश्यक रहेको उनले औँल्याए ।
उनले भने, “।।म त भन्छु– रोड टेस्ट नगरीकन ड्राइभिङ दिने परिपाटी छ, त्यो परिपाटी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ,” ।“कुनै ठाउँभित्र एट ९८० बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढंगले लाइसेन्स दिइएको छ, यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ,” उनले भने, “तर, सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु ।”
गृहमन्त्री लामिछानेले सीपबिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको बताए । । नागरिकको ज्यान बचाउनु राज्यको सबैभन्दा ठूलो दायित्व भएकामा उनले जोड दिए । सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्ने उनले उल्लेख गरे ।
.jpg)


