काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा संघीय सांसदहरू गम्भीर हुनुपर्ने बताएका छन ।
सोमबार आयोजित राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूसँगको अन्तरक्रियामा उनले समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताएका हुन् ।
अध्यक्ष दाहालले आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा बताए ।
उनले भने,“अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,” । “नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ ।”
नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्त्वपूर्ण हुने भन्दै उनले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।
.jpg)


