काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ-हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल-कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।
संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशका संसदको सहकार्यमा थप बल पुगेको भन्दै उनले अझैं जनता(जनताबीचको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले भने, “संसद जनताको सरोकारसँग जोडिने संस्था भएकोले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ,” । “तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु।”
नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत् आग्रह गरे ।
भेटका क्रममा कोरिया-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्धत गरेको बताए । उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै बैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
.jpg)


