काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेलेस्टाइन विद्रोही हमास समूहको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरिरहेको बताएका छन्।
आएतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त पनि गरे।
उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकार तदारूकताका साथ लागिरहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,’ ‘उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’ ‘अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,’ ‘उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।’
.jpg)


