काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनमाथि प्रश्न उठेको बताएका छन् ।
सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा शंका व्यक्त गरे ।
अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ,’। ‘मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’
अध्यक्ष नेपालले आफूहरू कसैको गालीगलौज सुन्नको लागी नजन्मेको भन्दै कसैको दास नबन्ने बताए ।
‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ,’उनले भने ।
.jpg)


