काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।
शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ । ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’
कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए । पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको उल्लेख गरे ।
‘खास गरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको संवर्द्धन गर्नुपर्छ । कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर्याउनुपर्छ’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।
.jpg)


