काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् ।
सोमबार सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा मन्त्री पुनले लगानी सम्मेलनमा विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको बताएका हुन् ।
मन्त्री पुनले लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको बताउदै विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने बताए ।
मन्त्री पुनले भने, “जुनस्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ,” “नेपाल लगानीका लागि उदयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।”
मन्त्री पुनले सम्मेलनको उद्घाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने कुरामा सिंगो देश एक ढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएको उल्लेख गरे ।
उनले भने “उदघाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित् सरोकारवालाहरूबाट नेपालमा लगानीका लागी राम्रो वातावरण बनेको सुन्न पायौँ,” । “त्यो समर्थनका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्वतमै यो हाम्रो सामूहिक शक्ति हो ।”
मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत नौ कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको बताए ।
.jpg)


