काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताएकी छन् ।
सोमवार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्द्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्ट अपहरूलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको बताइन् । उनले सो अभावलाई परिपूर्ति गर्नका लागि चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताउदै उनले आइटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन् ‘नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्द्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरूलाई एकै थलोबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको अभाव रहेकाले चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी छ । यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ भन्ने हाम्रो विश्वास छ । सूचना प्रविधि उद्योगको प्रवर्द्धनका लागि देश भित्र र बाहिरका साना, ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार छ ।
मन्त्री शर्माले सूचना प्रविधि उद्योगका लागि नेपाल नेपाली लगानीकर्ताको मात्रै नभई विदेशी लगानीकर्ताहरूको समेत उपयुक्त स्थल भएको बताइन् । उनले सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति पनि भएकोले कम लागतमा आइटी उद्योगहरू सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको बताइन् ।
उनले भनिन् ‘सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्रै होइन विदेशी लगानीकर्ताका लागि पनि नेपाल धेरै हिसाबले उपयुक्त स्थल हो । हामीसँग सूचना प्रविधि उद्योगका लागि अनुकूल भौगोलिक हावापानी त छदैछ । दक्ष जनशक्तिको उपलब्धताको कारण कम लागतमा आइटी उद्योगहरू सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ । प्रत्येक वर्ष दश हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेका छन् र अहिलेपनि झन्डै एक लाख युवाहरू सूचना प्रविधि सेवा निर्यात क्षेत्रमा क्रियाशील रहेकाले यहाँ दक्ष जनशक्तिको अभाव छैन ।
मन्त्री शर्माले सूचना प्रविधिसँग सम्बन्धित नीतिहरूलाई समयानुकूल परिमार्जन गरिरहेको पनि बताइन् ।
.jpg)


