काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताबाट मुलुक जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति ठूला राजनीतिक दलहरूबीच सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले)भित्र पनि असन्तुष्टि रहेको उल्लेख गरे ।
उनले भने,“नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ,” । “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्तासहकार्य गर्ने विषयमा ठोस छलफल नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।
प्रमुख सचेतक लेखकले सरकार सञ्चालनका निम्ति नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि ठूला दलहरूबीच सहकार्य र छलफल आवश्यक हुने बताए ।
सहकारीको रकम अपचलनबारे प्रधानमन्त्री पुष्पकमल दाहालले नै समग्र छानबिनका विषयमा सकारात्मक धारणा सार्वजनिक गरेको उनले उल्लेख गरे । उनले कांग्रेस पनि त्यसका निम्ति सकारात्मक रहेको बताए ।
“सहकारीको रकम अपचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्,” । “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।”
यही वैशाख २८ गते संसद् बैठक बस्नुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
.jpg)


