काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन् ।
सोमबार नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेपछि दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताएका हुन् ।
उनले भने,“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ–२५० वर्षमाभन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ”, । “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारितालगायतका मानवीय विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको बिस्तार चमत्कारिक हिसाबले अगाडि बढेको बताउदै ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ता आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।
उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
.jpg)


