काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञप्ति जारी गरेको छ ।
सिरोहिया पक्राउमा लामिछानेको पूर्वाग्रहको भूमिका रहेको भनेर आलोचना भइरहेको बेलामा पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा कानुन भन्दामाथि कोही नहुने कुरा नै विधिको शासनको सौन्दर्य भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, "जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । ‘कोही(कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ"।
विज्ञप्तिमा नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफ्नो दल दल कटिबद्ध रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ "नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ ।’ ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।"

.jpg)


