काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंकको स्वतन्त्र सञ्चालक पनि साधारणसभाले नै छनोट गर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेक, २०८० (बाफिया) माथिको छलफलमा सांसद गौतमले यस्तो बताएकी हुन् ।
उनले भनिन्,“प्रस्तावित विधेकको १४ (३) मा सञ्चालक समितिमा कम्तिमा एकजना महिलासहित दुईजना स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ,” । “यो बाफिया ऐनमा स्वतन्त्र सञ्चालक सञ्चालक समितिले नै नियुक्त गर्ने भन्ने प्रावधान छ, यसलाई मिलाउनुपर्छ । स्वतन्त्र सञ्चालकको नियुक्ति साधारणसभाले नै गर्नुपर्छ ।”
संशोधन व्यवस्थाको अर्थ बैंक तथा वित्तीय संस्थामा स्वतन्त्र सञ्चालकको संख्या बढे पनि सञ्चालकको संख्या नबढेको उनको बुझाइ छ । यसमा सञ्चालक समितिको संख्या सातदेखि ११ जना बनाउनुपर्ने गौतमको भनाइ छ । उद्योगी र बैंकर छुट्याउने व्यवस्था स्वागतयोग्य रहेको उनले बताइन् ।


