काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौंमा सहकारी केन्द्र नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै प्राधिकरण बनाएर अघि बढ्ने बताएका हुन् । उनले सो प्राधिकरण गठन प्रक्रिया केही समय भित्रै सुरु हुने बताए ।
सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यस सम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
उनले भने "सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याईपुर्याइएकोछ । बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट सहकारी समस्या समाधान हुन्छ भन्ने कुरा सम्भव छैन भन्ने ठाउँमा पुगेको छ । र, मलाई लाग्छ–अव केही समय भित्रै हामी त्यो प्रक्रिया अघि बढाउन सक्छौँ भन्ने विश्वास अहिले मलाई भएको छ ।"
प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको बताए ।


