काठमाडौं । एमाले सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान) मा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा क्यानमा अनियमितता भएको कुरा आएको भन्दै आचार्यले छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका हुन् ।
आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताए ।
खेलाडीलाई होटलमा खेलाडीलाई उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको उनको भनाई छ ।
उनले भने, ‘अवैध रूपमा जर्सी अमेरिका लगेर महँगोमा बेचेर त्यसको दुरुपयोग गरेको गुनासो आएको छ । अमेरिकामा बस्ने नेपालीसँग अवैध रूपमा चन्दा उठाएको र सो रकम क्यानको खातामा नराखेको गुनासो आएको छ,’ ।
उनले नेपाललाई जिताउन होइन, हराउन क्यानले भूमिका खेलेको बताए ।
.jpg)


