काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले विपक्षको भुमिका निर्वाह गर्ने गरी तत्काल सरकारमा नजाने बताएका छन् ।
बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका बताए ।
"हामी विपक्षमा छौं, हामीले विपक्षको भूमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छन् अन्य दलहरु हामी छैनौं" उनले भने ।
मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।
.jpg)


