काठमाडौं । स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि निस्शुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने बताएकी छन् ।
विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
स्वास्थ्यमन्त्री खानले रक्तदाताबाट निशुल्क लिइएको रगत शुल्क लिएर व्यापार भइरहेको गुनासोलाई राज्यले सम्वोधन गर्न जरुरी रहेको भन्दै यसमा आफ्नो पहल रहने बताईन् । उनले स्वयंसेवी रक्तदाता समाजले रक्त क्षेत्रमा गर्नु पर्ने सुधारका काम र सुझाव सहितका बुँदाहरु समेटिएको ज्ञापन पत्र राज्यमन्त्री खानमार्फत नेपाल सरकारका नाममा बुझाएका थिए ।
स्वास्थ्यमन्त्री खानले भनिन्, ‘निशुल्क दिएको रगतमा शुल्क लिएर व्यापार गरिरहेको गुनासोलाई हामीले सम्वोधन गर्न सकेका छैनौँ । यहि विषयलाई तपाईँहरुले नेपाल सरकारसमक्ष पेश गर्नु भएको ज्ञापन पत्रले सार्थकता पाउनु पर्दछ । यो विषयमा मन्त्रिपरिषदमा गम्भीर छलफलको लागि म पहल गर्ने छु । चाडैँ नै सकारात्मक सन्देश दिन यो सरकार सफल हुने विश्वास दिलाउन चाहन्छु ।’
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्ट, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सदुर्शन नेपाल, समाजका प्राविधिक सल्लाहका डा। विशेष पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका डा कपेन्द्रशेखर अमात्य, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि कृतिसागर बराल, रेडियो नेपालका संगित शाखा प्रमुख मनराजा नकर्मी तथा श्रद्धाचारी गुरुमाँको सहभागिता थियो ।


