काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सरकारी निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा समितिका सदस्य शिशिर खनालले आगामी मंगलबार बस्ने बैठकमा सहकारी मन्त्रालयका पदाधिकारीसहित सहकारी क्षेत्रका अन्य सरकारी निकायसँग छलफल गरिने जानकारी दिए
बैठकमा सहभागी नेपाली कांग्रेसकी सांसद तथा समिति सदस्य ईश्वरीदेवी न्यौपानेले समितिले मंगलबारदेखि कागजात मागेर मुख्य काम थाल्ने बताइन् ।
उनले भनिन्, “मंगलबारको छलफलबाट सहकारी मन्त्रालय तथा अन्य विभागबाट आवश्यक कागजात झिकाउने र समितिले द्रूत गतिमा काम अघि बढाउने निर्णयमा हामी पुगेका छौँ,” । पहिला सबैको डकुमेन्ट माग्ने र अध्ययन गर्ने हाम्रो निर्णय भयो,” ।
समितिका सदस्य खनालका अनुसार सहकारी समस्या अध्ययन गर्न यसअघि बनेका अन्य सबै समितिको कागजातसमते मागेर अध्ययन गर्ने निर्णय बैठकले गरेको छ ।
समितिले सहकारी मन्त्रालयसँग सुप्रिम, सूर्यदर्शन, साना पाइलालगायतका सहकारीको कागजात माग्ने तयारी गरेको छ । यस्तै, अनुसूचीमै लेखिएअनुसार समस्याग्रस्तसहित अन्य सहकारीको पनि कागजात झिकाउने समितिको तयारी छ ।
.jpg)


