सोमबार, कार्तिक १७ गते २०८३
images
images

दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता हुनुहुदैँन :कांग्रेस

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 255
    SHARES
  • दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता  हुनुहुदैँन :कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।

    images

    विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा भएको छलफलमा सहभागी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँगको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।

    विभागका प्रमुख एवं केन्द्रीय सदस्य गुरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा  उपभोक्ताको स्वास्थ्य र उपभोग्य बस्तुको गुणस्तर सम्बन्धमा कांग्रेसको स्पष्ट नीति आवश्यक रहेको विषयमा पनि चर्चा गरिएको थियो ।

    images

    छलफलमा धारणा राख्ने सबै व्यक्तिले खाद्य तथा उपभोग्य सामग्रीहरूको गुणस्तर तथा मापदण्डको बारेमा नेपाली कांग्रेसले आम नागरिकको हितलाई ध्यानमा राखेर बस्तुको गुणस्तर र मापदण्ड, उपभोक्ता ऐन, नीति, नियम तय गर्न स्पष्ट दृष्टिकोण पनि आवश्यक रहेको बताउँदै संसद्मा गैर सरकारी विधेयक दर्ता गराउनु पर्नेमा पनि जोड दिएका छन् ।

    आपूर्ति तथा उपभोक्ता विभागका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य बरालले उत्पादन र उपभोक्ताका हितका विषयमा कानुनी अप्ठ्यारोहरू के छन्, जोखिमहरू केके छन्, समस्यालाई सम्बोधन गर्दै उपभोक्ताको हक अधिकार संरक्षण कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले सरोकारवालहरूसँग छलफल गरेको बताए ।

    उनले भने, "दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धिले चामल, चिनी, दाल, तेल, माछा–मासु, सागसब्जी तथा फलफूल अत्यधिक महँगिँदा आम उपभोक्ताको भात भान्छा अत्यन्त महँगो भएको छ, यस विषयमा कांग्रेस बेखबर बन्न सक्दैन, सत्ता रहँदा होस् या प्रतिपक्ष रहँदा होस्, काँग्रेसले उपभोक्ताको अधिकार संरक्षणमा, क्षतिपूर्तिको व्यवस्थामा, भएका कानुन कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ, यसैका आधारमा नीति तय गरेर लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्मलाई लागू गराउन हाम्रो भूमिका रहनेछ ।"

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको बारेमा विभागले पहिलो पटक सुझाव सङ्कलन गरेको जानकारी दिँदै आगामी दिनहरूमा सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियामा नीति निर्माण तथा कार्यान्वयनलाई अझ प्रभावकारी  बनाउनु पर्नेमा जोड दिए ।

    उनले भने, ‘समृद्ध नेपाल निर्माणका लागि काम गर्छौ। दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनताको आवश्यकता पूरा गर्न लागि उपभोक्ता अधिकारलाई बलियो बनाउनुपर्छ, पार्टीको दस्ताबेज निर्माणका लागि छलफल बहसले भूमिका निर्वाह गर्छ। यसलाई अझै व्यापकता दिनु आवश्यक छ ।’ 

    नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले बजारमा पाइने खाद्य पदार्थ कम गुणस्तरीय र अस्वस्थकर रहेको भन्दै गुणस्तरका बारेमा काँग्रेसले आवाज उठाउनु पर्छ भन्ने धारणा राखे ।

    ‘बजारका खाद्यान्न अस्वस्थकर भए, शुद्धताको विषयमा ध्यान दिनु जरुरी छ, हानिकारक कुरा र रसायनले मानव स्वास्थ्यमा असर पारिरहेको छ, बजारलाई नियमन गर्ने, गुणस्तर कायम गर्ने सरकारको मोडेल र नीति हुनुपर्छ, आपूर्ति शृङ्खलामा भएको लामो अन्तरलाई ध्यान दिनुपर्नेछ, नीतिगत कुरामा सुधार गर्नुपर्छ, भोटसँग जोडिएका राजनीतिक नेताबाट हैन कर्मचारी संयन्त्रबाटै बजार अनुगमन हुनुपर्छ ’ उनले भने ।