काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको जनाएको छ ।
मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न एमालेसँग सहमति गरिएको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
प्रवक्ता महतले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले महत्वपूर्ण मुद्दामा आमजनतामा रहेको चासो र चिन्तालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बताए ।
उनले भने,"लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो,’ ‘सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ ।’अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बिचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ,"
उनले राष्ट्रिय सहमतिको सरकार बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने बताए । इच्छुक अन्य दलहरूलाई सरकारमा सामेल गर्ने उनले जानकारी दिए ।
.jpg)


