काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री दाहालले यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाल प्राकृतिक बिपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले भने,"राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन। नेपाल यसै पनि विपदका दृष्टिले उच्च जोखिमयुक्त देश हो। त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ। त्यसैले व्यवस्थित पूर्वतयारी गरौं। विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ। तर, कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं। राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनिकरणमा केन्द्रित गरौं।"


