काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।
सोमबार बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरूले परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए । सोहि अवसरमा मन्त्रीराणाले जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई सो जानकारी दिएकी हुन् ।
इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन् ।
मन्त्री डा राणाले भनिन्, "उनको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उनले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताएकी छन् । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि परेका छन् । हामीले उनको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।"
.jpg)


