काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनबिच शिष्टाचार भेटर्वाता भएको छ ।
मंगलबार उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए ।
उनले भने, "नेपालको आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।"
अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्त्वपूर्ण मुलुक भएको बताए ।
मन्त्री भण्डारीले पछिल्ला वर्षमा लगानी तथा व्यवसायसम्बन्धी प्रक्रियागत सरलीकरणमा समेत उल्लेखनिय सुधार भएको जनाउँदै नेपालमा थप अमेरिकी लगानी बढ्ने विश्वास व्यक्त गरे । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिका उनले अमेरिका सरकारसँग अपेक्षा गरे ।
भेटमा राजदुत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरणलगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताए । विगतमा रोक्का हुने भनिएको युएसएआइडीको कार्यक्रम निरन्तर हुने जनाउँदै उनले नेपाल र अमेरिकाबीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७ मा नेपालमै बस्ने बताए ।
उनले नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई अमेरिकी बजार प्रवेशको सुविधा सन् २०२५ को अन्त्यसम्म मात्र शून्य भन्सार महसुल लगाउने म्याद रहेकामा त्यसलाई थप गर्न पहल गर्ने आश्वासन दिए ।
.jpg)


