काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेका छन् ।
बुधबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए ।
राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्य सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे ।
.jpg)


