काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सबै खालका विपद्बाट घर, क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिहरूका लागि र विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ सबै प्रक्रिया पूरा गरी मन्त्रीपरिषद्मा अन्तिम निर्णयका लागि पठाइएको बताएका हुन् ।
उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीमध्ये ९ हजार ५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएकोमध्ये बझाङ जिल्लाका १२ सय ५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रुपैयाँ दोस्रो किस्ताबापत समेत प्राप्त गरेको बताए ।
उनले अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको बताउँदै अस्थायी आवास निर्माणका लागि करिब ९० करोड ९४ लाख ७५ हजार रुपैयाँ जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषहरूमा मौज्दात रहेको बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिबाट २ अर्ब २५ करोड ५ लाख २५ हजार रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको र थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड, ५८ लाख २५ हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भइसकेको जानकारी दिए ।
.jpg)


