काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् ।
बिहीवार परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आएपछी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको बताइन् । उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,"भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”
उनले भारतका प्रधानमन्त्री मोदीसँगको वार्तामा व्यापार, पारवहन, ऊर्जा, प्रविधि, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्य आयोजना, खेलकुद र सीमा पूर्वाधारका विषयमा कार्यान्वयन गर्दै लैजाने समझदारी भएको बताइन् ।


