काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने भएकाले जनताको मुद्दालाई प्राथमिकता दिन निर्देशन दिएका हुन् ।
उनले भने,“प्रहरी साथीहरूलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो पनि आइहाल्छ,” ।
गृहमन्त्री लेखकले सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको जानकारी दिदैँ नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उल्लेख गरे ।
“यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवामध्ये प्रहरीले प्रदान गर्ने महत्त्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखकले भने ।
.jpg)


