काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नरहेको बताएका छन्।
मंगलबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका हुन् । उनले इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उल्लेख गरे ।
उनले भने, ‘सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौँ।’ ‘खास गरेर देशमा महत्त्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौँ।’
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको उनको भनाई छ।
.jpg)


