काठमाडौं । देशभर ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको थियो ।
सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् भने बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् ।
यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ ।
देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो ।


