काठमाडौं । पछिल्लो समय दिनप्रति दिन चिसो बढ्दै गएको छ । चिसोमा हाम्रो शरिरलाई तातो बनाउन गाउँ,घरतिर आगो ताप्ने गरिन्छ भने सहर बजारमा विभिन्न विद्युतिय सामाग्रीहरुको प्रयोग गरिन्छ ।
अफिस, घर,कार्यलय सबैतिर चिसो समयमा सबै भन्दा बढि प्रयोग गरिने कुरा हो हिटर । बच्चादेखी वृद्धवृद्धाहरुले सम्म शहर बजारमा तातोको लागि हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर ताप्नु नराम्रो होइन तर कसरी ताप्ने भन्नेकुरा महत्पूर्ण हुन्छ । हामीले हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू सुन्दै आएका छौँ ।
कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन । जसको कारण कोठाभित्र अक्सिजन कम हुँदै जान्छ।
अक्सिजनको मात्रा कम हुने भएकाले लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै जान्छ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ ।
हिटर बाल्दा यी कुरामा ध्यान दिनुहोस्
– बन्द कोठामा हिटर नबाल्ने ।
– लामो समय हिटर नताप्ने
– राति सुत्ने बेला पूर्ण रूपमा हिटर बन्द गरेर मात्र सुत्ने ।
– बालबालिकाको पहुँच पुग्ने ठाउँमा हिटर नबाल्ने ।
– हिटर बाल्दा छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्त नली फुट्नेजस्ता समस्या देखा पर्न सक्छ, त्यसैले पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्न सकिन्छ ।
– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन ।
– दीर्घ रोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या बढ्न सक्छ ।


