काठमाडौं । चलचित्र‘ऊनको स्वीटर’ को ‘मखमली’ गीत बिहीबार सार्वजनिक गरिएको छ ।
सार्बजनिक गरिएको गीतले चलचित्रका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेम देखाइएको छ । सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुजनकै संगीत छ । यसका संगीत निर्माता कोविद बज्र हुन् ।
दीप गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राई पनि प्रस्तुत छन् ।
आगामी बैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय चलचित्र हो ।
यसअघि उनले ‘घुमी घुमी’, ‘तीन पाते’, ‘फूलथुङ्गे रानी’ जस्ता म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । चलचित्रमा विपिन, मिरुना र विल्सनसहित सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदा देवी सिलवाल लगायतको अभिनय छ ।
चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन् । यसमा चिन्तन राजभण्डारीको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ । आर्टमाण्डूको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री हुन् ।


