काठमाडौं । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ ।
बिहिबार देखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरेका छन् ।
अध्यक्ष ढकालले कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने बताए । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए ।
अध्यक्ष ढकालले भने,"कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ । जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसाबले करिब करिब ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्र्याएका छौँ । त्यो पनि आफैँमा धेरै ठूलो एचिभमेण्ट हो । अझै हाम्रो जुन हिसाबले डिपोजिट मोभिलाइजेशन भएको छ, डिपोजिट सोलिसिट गरेको छ, जुन हाम्रो क्यापासिटी छ, जुन हाम्रो रेफरेन्सर, जुन हाम्रो ब्राण्डिङ छ ।"
"सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरूलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८/२० वर्षको बिचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमानदार हिसाबले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ । हामीसँग ४ हजार जति कर्मचारी साथी हुनुहुन्छ, शेयर होल्डर त धेरै नै छौँ । मेहनत अझै हामीले बढायौँ भने साइजको हिसाबले त सबैभन्दा ठूलो भएका छौँ, हामी अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठूलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्नेकुरा प्रमाणित गर्नको लागि, नतिजा दिन धेरै समय लाग्छ भन्ने मलाई लाग्दैन ।"
१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधवारसम्म रहनेछ ।


