काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। ५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।
ट्रेलरले चलचित्रले पहाडी–मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ। सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा देखाएको छ। चलचित्रमा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन्। वुद्धि तामाङको न्यारेसनले ट्रेलरलाई रोचक बनाएको छ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।
चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। चलचित्रमा अमितेष शाह विशेष भूमिका छन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रलाई अमर महर्जनले खिचेका हुन्। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।


