आइतबार, कार्तिक १६ गते २०८३
images
images

अनलाइन माध्यमबाट केवाईसी  विवरण दर्ता गराउने प्रणाली सुरु

एक्सप्रेस पाना
श्रावण ५, २०७८ मंगलबार
  • 360
    SHARES
  • अनलाइन माध्यमबाट केवाईसी  विवरण दर्ता गराउने प्रणाली सुरु

    काठमाडौँ । अनलाइन माध्यमबाट केवाईसी  विवरण दर्ता गराउने प्रणाली सुरु  हुने भएको छ ।  शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात् आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको हो । शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम विकास गर्न थालेको हो।

    images

    नेपाल धितोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात् सीडीएससीले यसको तयारी थालेको भएतापनि सञ्चालनमा आउन सकेको थिएन । सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ईकेवाईसीको कार्यान्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानूनी रूपमा एक जनाले धेरैको नाममा साधारण शेयर आईपीओको आवेदन दिने प्रवृत्तिमा रोक लगाउन सकिने बताए।

    ‘यो प्रणाली कार्यान्वयनमा आएपश्चात् लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनु पर्ने छैन । साथै यसले लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सहयोग गर्छ ,’ उनले भने, ‘लगानीकर्ताको विवरण सहजै संकलन गर्न हामीलाई पनि सहज हुन्छ।’

    images

    उनका अनुसार केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति नियन्त्रण हुनेछ। त्यस्तै केवाईसीको आधारमा लगानीकर्ताको आम्दानीको स्रोत पनि पत्ता लाग्ने हुँदा गैरकानूनी रूपमा कमाएको पैसा शेयर बजारमा लगानी हुनबाट पनि रोक लाग्ने सीडीएससीको विश्वास रहेको छ।

    यो प्रविधिले लगानीकर्ताको बैंकमा खाता, कारोबार, कारोबारको स्रोत, ब्रोकर कम्पनी लगायतका विवरणहरू प्राप्त गर्न पनि सहज हुनेछ। सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले यो सफ्टवेयर लागू हुन अझैँ पाँच देखि छ महिना लाग्न सक्ने बताएका छन् । 

    अन्य काम कारबाहीको कारण यसको लागि समय दिन नसक्ने स्थिति भन्दै उनले काम समयमै सुरु हुन नसकेको जवाफ दिए। ‘सिस्टम तयार त भइरहेको थियो। अहिले फेरी बिचमा पूँजीकृत लाभकर सम्बन्धी विभिन्न कामहरूले गर्दा त्यताको काम अलिकति प्रभावित भएको छ । उनले भने,अहिले सफ्टवेयर डेभलप गर्नका लागि प्राप्त आवेदनहरूको मूल्यांकन गर्ने काम भइरहेको छ।

    अहिलेसम्म सोचेअनुरूप सिस्टमको काम अगाडि बढ्न नसकेको भन्दै उनले सीईओ आचार्यले अर्को हप्तादेखि काम द्रुत गतिमा काम सुरु हुने बताए। ‘सफ्टवेयर विकास गर्न करिब तीन महिना जति लाग्ने अनुमान छ,’ उनले भने, ‘तयार भइसकेपछि सफ्टवेयर पूर्ण रूपमा लागु हुन थप तीन महिना लाग्छ।’

    यो प्रणाली लागु भइसकेपछि लगानीकर्ताले बारम्बार आफ्नो केवाईसी भर्नु नपर्ने समेत उनले बताए। ‘लगानीकर्ताले एक पटक केवाईसी भरिसकेपछि एउटा आईडी नम्बर उपलब्ध गराइनेछ,’ उनले भने, ‘पछि आफ्नो ब्रोकर परिवर्तन गर्नुपर्‍यो अथवा अन्य कामको लागि केवाईसी चाहिएको खण्डमा सोही केवाईसी आफ्नो आईडी नम्बर प्रयोग गरेर डाउनलोड गर्न सकिन्छ।

    हाल सफ्टवेयर डेभलप गर्न ११ वटा कम्पनीले आवेदन दिएका थिए। जसमध्ये तीन वटा कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टम, वाईसीओ प्रालि र रेडियन्ट इन्फोटेक नेपाल शर्टलिस्टमा परेका छन्। यी कम्पनीहरूको प्रस्ताव मूल्यांकन भइरहेको सीडीएससीले जनाएको छ।