काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइएको सहायतालाई ठगीको संज्ञा दिँदै व्याख्या गरे पछि छानबिनको माग गरिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ट्रम्पले नेपाललाई भ्रष्ट देश भनेको र संघीयताका साथै जैविक विविधता लागि प्राप्त सहयोग फ्रड हो भनेकाले नेपालमा आएको सहयोगको छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
उनले विदेशबाट आएको सहयोग रकमको हिसाबकिताब राष्ट्र बैंकसँग हुने भन्दै अमेरिकाले नेपाललाई दिएको सहयोगका विषयमा राष्ट्र बैंकसँग छलफल गर्न माग गरेका हुन् ।
केहि दिन अघि ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको संज्ञा दिँदै व्याख्या गरेका थिए ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा नेपाललाई संघीयताका लागि दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन्।
ट्रम्पले आफ्नो भाषणमा भने, ‘यी तथ्याङ्कहरू सुन्नुहोस्। यो सबै ठगी हो। नेपालमा जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर।’
उनले नेपाललाई १९ मिलियन अमेरिकी डलर जैविक विविधता संरक्षणका लागि पनि दिइएको बताएका छन्। यो संगै उनले नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि ९० दिनका लागि स्थगित गरेका छन् ।


