आइतबार, कार्तिक १६ गते २०८३
images
images

दसैंको टिका निधारबाट नझर्दै किसानलाई धान भित्र्याउन चटारो

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 365
    SHARES
  • दसैंको टिका निधारबाट नझर्दै किसानलाई धान भित्र्याउन चटारो

    कात्तिक १ बागलुङ । दसैंमा लगाएको टिका निधारबाट नझर्दै बागलुङका किसानलाई धान भित्र्याउन चटारो परेको छ । खेतमा लगाएको धानबाली पहेँलपुर भएपछि कृषकहरु दसैंको दिन जसोतसो घरमै रहे पनि भोलीपल्टैदेखि खेतीमा जुटेका हुन । धान भित्र्याउनको लागि मौसमले साथ दिएपछि कृषकहरु उत्साहित छन् । 

    images

    नियमित बर्षा रोकिएकाले  धान काट्ने, सुकाउने , झाँट्ने र घर भित्र्याउन कृषकहरुलाई भ्याईन नभ्याई  छ । ‘बर्खा भरीको दुःख फेरि असिना पानीले खाने होकी भन्ने डर छ’ काठेखोला–२ का थमबहादुर आलेले भने–‘दशैको दिन जसो तसो घचेटियो, अब घर बस्ने फुर्सद छैन ।’ गाउँमा अर्मापर्मा गरेर खेती किसानी गर्दै आएको आलेको भनाई छ । 

    छोराछोरी रोजगार र अध्ययनको लागि सहरमा गएपछि गाउँमा बाँकी छिमेकीसँग मिलेर खेतबारीको काम गर्दै आएको उनले बताए । धानसँगै बारीमा कोदोसमेत राताम्य भएपछि कृषकलाई बर्षभरी खाने अन्नको संरक्षण गर्नु मुख्य चुनौती छ । 

    images

    दसैंको टिका थाप्न आएका छोराछोरीले धान भित्र्याउन सहयोग गर्ने भएपछि अभिभावक पनि त्यही मौका छोप्ने गर्छन ।

    ‘केटा केटी आएको बेला उछार खेल्नु पर्यो’ आलेले भने ‘बजार फर्के पछि गाउँमा काम गर्ने मान्छे पाईदैन ।  ‘कति बेला असिना पानीले सखाप पर्छ पत्तो हुँदैन’ सोही स्थानका कौशिला विकले भनिन् ।

    जिल्लाभर कुल ६ हजार १२२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।  पछिल्लो सयम कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । खेत जोत्न मिनिटेलर हलो प्रयोगमा आएको छ । 

    सडक सुविधा भएको ठाउँमा धान, पराल, मल बोक्न ट्याक्टर प्रयोग हुन्छन् । पहाडी क्षेत्र बढी भएको ठाउँमा धान, पराल बोक्न जनशक्ति नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।
     
    जिल्लामा पोख्रेली जेठोबुढो, खुमल–४ र ७, लुम्ले २, माछापुच्छे–३ तथा स्थानीय जात (जडन) जातको धान रोप्ने गरिएको छ ।न्युज कारखाना