काठमाडौँ । चितवनमा सडक दुुर्घटना अत्याधिक वृद्दि भएको छ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो। कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन्।
यस अघिको वर्षमा २६१ सवारी साधन दुुर्घटनामा परेका थिए । दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ। गत आवमा १२८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अघिल्लो वर्षमा १०७ जनाको मृत्य भएको थियो।
गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन्। तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन्। ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन्। कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना भएको स्रोतले जनाएको छ । दुर्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन्।
कार्यालयका अनुसार गत आवमा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने २३६ जनालाई कारवाही गरिएको छ। उनीहरुबाट कारवाहीस्वरुप रु दुई लाख ४४ हजार ५०० जरिवानामा परेका छन् । ५४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारवाही गरिएको छ। उनीहरुबाट रु पाँच लाख ४८ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ। यस्तै कार्यालयले गत आवमा ३८ हजार ६२२ वटा सवारी साधन कारवाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजश्व सङ्कलन भएको छ।


