शनिबार, भाद्र २७ गते २०८३
images

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 230
    SHARES
  • वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा

    काठमाडौं । वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ ।

    images

    वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार मात्र ८४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए। 

    तीमध्ये ११ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो। तर सोही दिन १८ जना हैजा संक्रमितसहित १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

    images

    गत शुक्रबार साँझ तीन जनामा हैजा देखिएकोमा बिहीबार साँझ ५ बजेसम्मको परीक्षण परिणामअनुसार यो सङ्ख्या बढेर १४३ पुगेको छ। तर, उपचाररत बिरामीको सङ्ख्या भने घट्दै गएको स्वास्थ्य शाखाले जनाएको छ ।

    हालसम्म झाडापखाला तथा हैजाका ६१२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए। तीमध्ये ४३४ जना उपचारपछि निको भई घर फर्किएका छन् भने १७८ जना मात्र अस्पतालमा उपचाररत छन्। जसमध्ये ६९ जना हैजा संक्रमित रहेका छन् ।

    महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रका धाराबाट पानी संकलन गर्दै नियमित परीक्षणलाई तीव्रता दिएको छ। हैजाको स्रोत पत्ता लगाउन र पुनः सङ्क्रमण फैलिन नदिन यो कार्यलाई प्रभावकारी बनाइएको महानगरले जनाएको छ ।

    स्वास्थ्यकर्मीहरूले दूषित पानी र अस्वच्छ खानेकुराबाट हैजा फैलिने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाले सर्वसाधारणलाई दिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # हैजा
  • # झाडापखाला