शनिबार, भाद्र २७ गते २०८३
images

पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान, ६ लाखभन्दा बढीलाई लगाइने

एक्सप्रेस पाना
आश्विन २६, २०८२ आइतबार
  • 195
    SHARES
  • पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान, ६ लाखभन्दा बढीलाई लगाइने

    काठमाडौं । पर्सा जिल्लामा फैलिएको हैजा रोगको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न आइतबारदेखि हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । 

    images

    पर्साको प्रमुख जिल्ला अधिकारी तोयनारायणी सुवेदीलाई पहिलो खोप खुवाई अभियानको सुरुवात गरिएको हो ।

    जन स्वास्थ्य कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको एक समारोहका बीच प्रजिअ सुवेदी, सुरक्षा निकाय, प्रमुख सरकारी कर्मचारी तथा चिकित्सक पत्रकारलाई खोप खुवाई अभियानको सुरुवात गरिएको हो ।

    images

    सभालाई सम्बोधन गर्दै प्रजिअ सुवेदीले विश्व स्वास्थ्य संगठनले पठाएको हैजा विरुद्धको खोप सुरक्षित भएकाले सबै जिल्लावासीलाई ढुक्क भएर सेवन गर्न अपिल गरे । 

    कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका खोप प्रमुख डा. अभियान गौतम, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा. मनोज गुप्ता, नेपाल पत्रकार महासंघका सचिव विजय चौहान, नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरण चन्द्र भट्ट लगायतका व्यक्तिहरुलाई खोप खुवाई अभियानको सुरुवात गरिएको जन स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

    उनले कार्यक्रममा ५० जना नेपाल प्रहरी, ५० जना सशस्त्र प्रहरीका जवानलाई समेत हैजा विरुद्धको खोप खुवाइएको बताए ।

    आजबाट सुरु भएको हैजा विरुद्धको खोप खुवाउने अभियान पर्सा जिल्लाको १४ वटै पालिकामा संचालन भएको छ । अभियानलाई सफल बनाउन जिल्लाको ८ हजार ३ सय ६४ जना जनशक्ति परिचालन गर्दै १ हजार ९ सय ५१ खोप केन्द्रमार्फत ६ लाख ५२ हजार १ सय २९ जना पर्सावासीलाई खोप खुवाउने लक्ष्य रहेको अधिकृत ठाकुरले जानकारी दिए ।

    जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्था, विद्यालय तथा खोप केन्द्रमार्फत एक वर्ष माथिका सबै पर्सावासीलाई ८ दिनभित्र खोप वितरण गरिने आफूहरूले लक्ष्य दिएको र यस लक्ष्यमा सफल समेत हुने उनले विश्वास व्यक्त गरे ।

    पर्सा जिल्लामा समुदाय स्तरमै फैलिएको हैजाको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न खोप अभियान नै एक मात्र बाटो भएकाले नेपाल सरकारको आग्रहमा विश्व स्वास्थ्य संगठनले पर्सा जिल्लाको १४ वटा पालिकाका लागि ६ लाख ६५ हजार थान खोप पठाएको छ भने बारा जिल्लाको ६ वटा पालिका वितरण गर्न ३ लाख ५३ हजार थान खोप पाएको अधिकृत ठाकुरले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # खोप अभियान