शनिबार, भाद्र २७ गते २०८३
images

मार्तडीमा जमेकी धनगढीकी विनु:जो प्रेरणादायी उद्यमी बनिन्

एक्सप्रेस पाना
कार्तिक १८, २०८२ मंगलबार
  • 243
    SHARES
  • मार्तडीमा जमेकी धनगढीकी विनु:जो प्रेरणादायी उद्यमी बनिन्

    काठमाडौं ।  दुर्गम जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘जेसिका स्टोर’ अहिले स्थानीय स्तरमा सबैभन्दा परिचित व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।

    images

    धनगढीकी विनु भण्डारीले श्रीमानसँग मिलेर केवल ५० हजार रुपैयाँको सानो लगानीबाट सुरु गरेको यो पसल आज हजारौँ ग्राहकले भरिने केन्द्र बनेको छ ।

    सुरुमा केही थान दैनिक उपभोग्य वस्तु बेचेर सुरु गरिएको पसल अहिले खाद्य वस्तु, कस्मेटिक, भाँडाकुँडा, कपडा, चकलेट, बिस्कुट, पेय पदार्थदेखि केक र उपहारका सामग्रीसम्म पाइने बहुउद्देश्यीय पसल बनेको छ ।

    images

    एकै ठाउँमा सबै आवश्यक सामान पाउने भएकाले स्थानीय बासिन्दा र विद्यार्थीदेखि लिएर सरकारी कार्यालयका कर्मचारीसम्मले यही पसललाई प्राथमिकता दिन थालेका छन् ।

    भण्डारीका अनुसार, यो व्यवसाय सुरु गर्दा धेरै चुनौतीहरू थिए । उनले भनिन्,‘सुरुमा बजार सानो थियो, सामान ल्याउन सडक सुविधा थिएन, धेरैपटक घाटा पनि भयो । तर हामीले कहिल्यै हिम्मत हारेनौँ ।’

    उनका श्रीमान पनि यसै पसलमा सघाउँछन् । उनले थपिन्, ‘कुनै पनि काम सुरु गर्दा नाफा तुरुन्त आउँदैन । तर लगनशीलताले ढिलोचाँडो फल दिन्छ । हामीले पनि १२ वर्षको मिहिनेतपछि अहिले सफलता पाएका छौँ ।’ उनी भन्छिन्, ‘व्यापारमा घाटा र नाफा दुबै हुन्छन्, तर निरन्तरता दिनु नै ठूलो कुरा हो ।’

    सुरुमा केवल सानो जस्ताको कोठामा सञ्चालन गरिएको जेसिका स्टोर अहिले दुईतले भवनमा विस्तार भइसकेको छ । पसलबाट उनीहरूले अहिले घरखर्चदेखि बचतसम्मको व्यवस्था गर्न थालेका छन् ।

    भण्डारी अहिले सफल महिला उद्यमीको रूपमा चिनिन थालेकी छन् । उनी भन्छिन्, ‘पहिले न घाटा सहन सक्थ्यौँ, न डर हट्थ्यो, तर अहिले महसुस गर्छु, मिहिनेतले सबै सम्भव हुन्छ ।’

    उनी स्थानीय महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बनेकी छन् । उनीहरू पनि सानो व्यापार सुरु गर्नका लागि विनु भण्डारीको सफलताको कथा सुन्छन् र उत्साहित हुन्छन् ।

    धनगढीकी भएपनि विनु भण्डारी अहिले बाजुरामै स्थायी रूपमा बसोबास गर्दै व्यवसाय गर्दैछिन् । उनले भनिन्, ‘धनगढी मेरो जन्मस्थान भए पनि अहिले बाजुरा नै आफ्नै गाउँजस्तो लाग्छ ।’

    दुर्गम क्षेत्रमा व्यापार सञ्चालन गर्न कठिनाइ छ । बाटो बिग्रँदा सामान आउन गाह्रो, ढुवानी खर्च धेरै, तर ती सबै कठिनाइ बीच पनि उनी अडिग छिन् । उनका अनुसार,‘यहाँका मानिसहरूसँग आत्मीयता छ, सहयोग गर्ने भावना छ । त्यसैले यो ठाउँ अहिले मसँग जोडिएको छ ।’

    विनु भण्डारीले अरू व्यापारीहरूलाई पनि हौसला दिँदै भन्छिन्,‘व्यापार सुरु गरेपछि नाफा नहुन्जेलसम्म धैर्य गर्नुपर्छ । धेरैले बीचमा व्यापार छोड्छन्, त्यसैले असफल हुन्छन् । सफल हुन मिहिनेत, निरन्तरता र दृढ इच्छाशक्ति आवश्यक छ ।’ उनी भन्छिन्, ‘व्यापार भनेको केवल पैसा कमाउने माध्यम होइन, जिम्मेवारी र विश्वासको यात्रा पनि हो ।’

    त्यसैगरी, उनी विदेश जान चाहने युवायुवतीलाई पनि सन्देश दिन्छिन,‘नेपालमै अवसरहरू छन् । मिहिनेत र लगनसाथ काम गर्न सके सफलता यहीँ सम्भव छ । विदेशिनु भन्दा आफ्नै देशमा केही सिर्जना गर्न पाउनु गर्वको कुरा हो ।’

    उनले थपिन्, ‘बाजुरा जस्तो दुर्गम ठाउँमा बसेर पनि हामीले सफल व्यापार गर्न सकेका छौँ भने, यो देशका जुनसुकै ठाउँमा पनि सम्भव छ ।’

    राजधानीदेखि टाढा र भौगोलिक कठिनाइबीच पनि ‘जेसिका स्टोर’ बाजुराको स्थानीय अर्थतन्त्रमा सशक्त योगदान दिइरहेको छ र विनु आज प्रेरणादायी महिला उद्यमीका रूपमा उदाहरण बनेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # विनु भण्डारी