काठमाडौं । आइसीसी टी–२० विश्वकप आजदेखि सुरु हुँदैछ । मार्च ८ सम्म भारत र श्रीलंकामा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित विश्वका २० देश सहभागी छन् ।
विश्वकपका खेलहरू चार समूहमा विभाजन गरिएका छन् । समूह ‘ए’ मा आयोजक भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । समूह ‘बी’ मा आयोजक श्रीलंका, अस्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान छन् । त्यसैगरी समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङ्ल्यान्ड रहेका छन् भने समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन आज (शनिबार) तीन खेल हुँदैछन् । बिहान सवा ११ बजे समूह ‘ए’ का पाकिस्तान र नेदरल्यान्ड्सबीच कोलम्बोमा पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो सवा ३ बजे समूह ‘सी’ का स्कटल्याण्ड र वेस्ट इन्डिजबीच कोलकातास्थित इडेन गार्डेनमा हुँदैछ । त्यस्तै तेस्रो खेल राति सवा ७ बजे समूह ‘ए’ कै भारत र संयुक्त राज्य अमेरिकाबीच मुम्बईको वानखेडे स्टेडियममा खेलिनेछ ।
नेपालको सहभागिता
नेपालले यस पटक तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो भने २०२४ मा १० वर्षपछि विश्वकपमा कमब्याक गरेको थियो । २०२४ को विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग, फेब्रुअरी १२ मा इटालीसँग, फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ ।
नेपाली टोली
रोहित पौडेलको कप्तानीमा नेपाल १५ सदस्यीय टोलीसहित विश्वकपमा सहभागी हुँदैछ । दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद छन् ।


