आइतबार, भाद्र २८ गते २०८३
images

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

एक्सप्रेस पाना
बैशाख १५, २०८३ मंगलबार
  • 114
    SHARES
  • रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिवार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरेपछि सवारी आवागमन सुचारु गरिएको हो ।

    शनिवार दिउँसो वर्षा सुरु भएलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सडक बन्द गरेको थियो । सोही क्रममा रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार खण्डअन्तर्गत रोशीखोलाका करिब चार किलोमिटर क्षेत्रमा बनाइएका डाइभर्सनहरूमा क्षति पुर्‍याएको थियो ।

    images

    गत वर्ष र यस वर्षको वर्षायाममा रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत रोशी खोला किनार क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाइसकेको छ । सो सडक पुनर्निर्माणको काम जारी रहेकाले हाल खोलामै अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।

    तर खोलामै सडक निर्माण गरिएको कारण सामान्य वर्षा हुँदा समेत बाढीले सडक बगाउने जोखिम कायम रहेको छ । पटक–पटक मर्मत गरिए पनि फेरि बाढी आउँदा सडक पुनः क्षतिग्रस्त हुने समस्या दोहोरिँदै आएको छ ।

    यद्यपि सडक पुनर्निर्माणको काम भइरहे पनि निर्माणको गति सुस्त रहेकाले यस वर्षको वर्षायामअघि नै सडक सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ । यसले काठमाडौं–पूर्व आवतजावत गर्ने यात्रुहरूलाई निरन्तर सास्ती खेप्न बाध्य बनाएको छ ।

    सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौं आउने सवारी साधनहरूले वैकल्पिक मार्गका रूपमा खुर्कोट–रामेछापको मन्थली हुँदै दोलखाको चरिकोट भएर यात्रा गर्नुपरेको थियो। उक्त मार्ग प्रयोग गर्दा काठमाडौं आउजाउ गर्न सामान्यभन्दा चार घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

    सडक सञ्चालमा आए पनि पानी पर्ना साथ सडक अवरुद्ध हुने भएकोले सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रोशी खोला