काठमाडौं । काठमाडौँ । जारी फिफा विश्वकपमा पोर्चुगल डिआर कङ्गोसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह चरणअन्तर्गतको खेलमा पोर्चुगल डिआर कङ्गोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको छैटौँ मिनेटमै मिडफिल्डर जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि अधिकांश समय बलमाथि नियन्त्रण कायम राखे पनि पोर्चुगलले थप गोल गर्न सकेन।
पोर्चुगलको यही कमजोरीको फाइदा उठाउँदै डिआर कङ्गोले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरीमा ल्यायो। अतिरिक्त समयको पाँचौँ मिनेटमा आर्थर मासुआकुको आकर्षक क्रसमाथि न्युक्यासल युनाइटेडका फरवार्ड योआने विस्साले कुनै दबाबबिना हेडमार्फत गोल गर्दै टोलीलाई बराबरी दिलाए।
यो गोल डिआर कङ्गोका लागि विश्वकप इतिहासकै पहिलो गोल समेत बनेको छ। प्रभावशाली प्रदर्शन गरेको डिआर कङ्गोले बलियो प्रतिद्वन्द्वी पोर्चुगललाई रोक्दै महत्वपूर्ण एक अंक हात पार्न सफल भयो।


